काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झण्डै दोब्बरले बढेको देखिएको छ । साउन महिनामा कुल निर्यात ९५दशमलव७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्रबैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा भने निर्यात ९दशमलव६ प्रतिशतले घटेको थियो ।
गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात १५६दशमलव७ प्रतिशतले बढेको छ, भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५दशमलव२ प्रतिशत र १दशमलव४ प्रतिशतले घटेको देखिन्छ ।
वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची, जुटका सामान आदिको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको राष्ट्रबैंकले जनाएको छ ।
निर्यात र आयात दुवै बढे पनि व्यापार घाटा अझै उच्च स्तरमै रहेको छ । पहिलो महिनामा कुल व्यापार घाटा २दशमलव५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको सोही अवधिमा यो वृद्धि ०दशमलव४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १६दशमलव७ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ९दशमलव५ प्रतिशत मात्र थियो ।
यस्तै, समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबर रहेको थियो ।