Nidan Media

वीरगञ्जमा फेरि फैलियो झाडा-पखालाको प्रकोप

पाेखरा । पर्साको वीरगञ्जमा झाडा पखालाको प्रकोप फेरि फैलिएको छ । जसका कारण संक्रमितको संख्या बढ्दै गइएको छ ।

वीरगञ्जसहित मधेसका केही जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सो वर्षासँगै झाडा-पखालाका बिरामी बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा झाडा पखालाका बिरामीको संख्या तीन गुणाले वृद्धि भएको छ ।

यही भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा चार, पाँच जना नयाँ झाडा-पखालाका बिरामी अस्पताल आउने गरेकामा पछिल्ला तीन दिन यता संख्या बढेर १५ देखि २० जनासम्म पुगेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार नागरिकले झाडा-पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी पालना नगरेका कारण झाडा-पखालाको प्रकोप पुनः फैलिएको आशंका गरे ।

अविरल वर्षाका कारण नालामा पानीको सतह बढ्नुका साथै खानेपानीको पाइप लिक भएर दूषित पानी मिसिएर झाडा-पखालाको प्रकोप फैलिएको उनको दावी छ ।

डा. सिंहले भने, ‘बिरामीले आवश्यक सावधानी नअपनाउँदा नयाँ संक्रमित थपिँदै गएका छन् भने निको भई घर फर्किएका बिरामीसमेत पुनः संक्रमित भएर अस्पताल आएका छन् ।’

एक साता अघि उपचार गराई घर फर्किएकी वीरगञ्ज-१२ मुर्लीकी ३५ वर्षीया महिला झाडा-पखालाकै संक्रमित भई पुनःअस्पताल भर्ना भएकी छन् । उनलाई अस्पतालको मेडिकल वार्डमा राखेर उपचार भइरहेको छ ।

डा. सिंहका अनुसार नयाँ बिरामी बढ्दै जानु र निको भएका बिरामीसमेत पुनः संक्रमित भई भर्ना हुनु गम्भीर चिन्ताको विषय हो ।

युवा पुस्ताको आन्दोलनका कारण वीरगञ्जका कतिपय सरकारी कार्यालय तोडफोड भई सेवा प्रवाह रोकिएको अवस्थामा झाडा-पखालाका बिरामी बढ्नु झन् चिन्ताजनक भएको उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.