Nidan Media

राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका छन् ।

सोमबार पदभार ग्रहण गर्दै उनले मृतकहरुको परिवारलाई काजकिरिया बापत् प्रतिमृतक एक लाख रुपैयाँ उपलब्ध गराउने र परिवारको सदस्यको आग्रह अनुसार शवको व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय पनि भएको बताए ।

उनले भने, ‘प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । मृतकहरुको परिवारलाई काजकिरिया बापत् प्रतिमृतक एक लाख रुपैयाँ उपलब्ध गराउने रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने, परिवारका सदस्यहरुको आग्रह अनुसार शवहरुको व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने भनेर तीनवटा निर्णय गरेका छौँ ।’

यस्तै, उनले अब पुरानै परिपाटीबाट सोचेर काम गर्न नहुने भन्दै अहिलेको अवस्थालाई सुधार गर्न राज्यको मात्र होइन सबैको व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘देशको पछिल्लो परिस्थिति असामान्यबाट सामान्यतर्फ आउँदैछ । यसलाई सामान्य गरेर घाइते, मृतक, पीडित र आन्दोलनरत पक्ष सबैलाई सामान्य बनाएर विश्वासको वातावरण कसरी बनाउने र लोकतान्त्रिक प्रक्रियालाई कसरी शुरु गर्ने भन्ने अहिलेको मूल विषय वस्तु बनेको छ । यसलाई केन्द्रमा राखेर हामीले कसरी काम गर्ने भन्ने कुरा आउँछ । हामीले पूरानै परपाटीबाट सोचेर हुँदैन । अहिले जुन विद्रोह भयो त्यो विद्रोहले कतिपय संस्थामा विनाश पनि गरेको छ । यसलाई सुधार गर्नुपर्छ र राज्यको मात्र होइन हाम्रो व्यवहार र आचरणको पनि पुनर्संरचना गरेर अगाडि बढ्नु पर्छ ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.