Nidan Media

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गरिने, त्यसअघि संसद विघटन हुने

पाेखरा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री नियुक्त भई आजै शपथ हुने भएको छ । कार्की प्रधानमन्त्री हुने गरी बिहीबार नै सहमति जुटे पनि आज दिनभर रस्साकस्सकी चलेको थियो ।

अन्तिममा जेन-जीका प्रतिनिधिले अब पनि पनि प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ गरिए राष्ट्रपति भवन घेर्ने चेतावनी दिएपछि राष्ट्रपति पाैडेल पछि हटेका हुन् । पाैडेल त्यसअघि संसद विघटन नगर्ने अडानमा थिए ।

स्रोतका अनुसार संसद विघटन पनि आजै गरिने भएको छ । संसद विघटनलगत्तै कार्कीलाई अन्तरिम चुनावी सरकारको नेतृत्व सुम्पने तयारी भएको स्रोत बनाउछ । संसद विघटनलाई जेन-जीले प्रमुख मुद्दा बनाएपछि यस्तो सहमति भएको बताइन्छ ।

बालेन्द्र साहसहित अधिकांश जेनजी पुस्ताको चाहना र सबैतिरबाट कार्कीलाई चुनावी सरकारको प्रमुख बनाउँदा उपयुक्त हुने सुझाव आएपछि राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारीमा जुटेका हुन् ।

नेपालको संविधानको धारा ६१(४) अन्तर्गत “बाधा अड्काउ फुकाऊ” सम्बन्धी व्यवस्थामा “संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हो” भन्ने छ ।

सोही धारा र व्यवस्थालाई आधार मानेर राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । अब केहीबेरमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी सपथ खुवाइने छ ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेगरी आफूले गर्न लागेको निर्णयबारे पौडेलले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेतालाई जानकारी बिहीबार नै गराइसकिएका छन् । तर राजनीतिक दलहरुले संघीय संसदको सदस्यमात्रै प्रधानमन्त्री हुन पाउने संविधानमा व्यवस्था रहेको भन्दै संविधान नमिच्न आग्रह गरिरहेका थिए ।

उक्त निर्णयमा पुग्नुअघि बिहीबार राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए ।

सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ। यसअघि नै जेनजी प्रतिनिधिहरूले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए ।

सरकार बनाउने रस्साकस्सी चलिरहेका बेला राष्ट्रपति निवास क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । सो क्षेत्रमा सयौँका संख्यामा सेना परिचालन गरिएको छ ।

कार्की प्रधानमन्त्री बनेमा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने शौभाग्य पाउनेछन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । नेपालले महिला राष्ट्रपति, सभामुख पाइसकेको छ ।

देशको प्रतिकुल परिस्थितिमा कार्कीका सामू निकै धेरै चुनौती छन् । जेनजी आन्दोलनका कारण देशभरका भौतिक संरचना ध्वस्त भएको अवस्था, राजनीतिक दलहरु बाहिर रहेको अवस्था र सबै पक्षलाई साथमा लिएर हिंड्नुपर्ने अवस्थाका कारण कार्कीले निकै धेरै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.