पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधानको संरक्षण गर्दै संवैधानिक बाटोमार्फतमात्र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सम्पूर्ण पार्टी कार्यकर्ता तथा नागरिकलाई आपसी सद्भाव कायम राखी धैर्यतापूर्वक रहन आग्रह गरेका छन् ।
सभापति शर्माले विज्ञप्ति जारी गर्दै जेन-जी समूहद्वारा भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा दिवंगत भएका युवा साथी, नागरिक तथा सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् भने घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शर्माले आन्दोलनका क्रममा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जेन–जी युवाहरूले उठाएका सुशासन कायम गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने र संवैधानिक व्यवस्थामा सुधार ल्याउने मागप्रति समर्थन जनाएको उल्लेख गरेका छन् ।
शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक व्यक्तित्वमाथि भएको सांघातिक आक्रमणप्रति दुःख र खेद व्यक्त गरेका छन् ।
यस्तै, उनले आन्दोलनमा राजनैतिक घुसपैठका कारण सरकारी तथा निजी भौतिक संरचनामा भएको क्षति र आगजनीप्रति चिन्ता प्रकट गर्दै यस्ता घटनाको न्यायिक छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
“देशको यो विषम परिस्थितिमा सुशासन कायम गर्न र जेन–जीले उठाएका जायज माग सम्बोधन गर्न संवैधानिक बाटो अवलम्बन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “गैरसंवैधानिक गतिविधितर्फ लाग्दा देशमा भयावह अवस्था सिर्जना हुनसक्छ र आन्दोलनको उपलब्धि जोगाउन सकिँदैन ।”
उनले संविधानको संरक्षण गर्दै संवैधानिक बाटोबाट मात्र निकास खोज्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयमित रहन अपिल गरेका छन् ।
यस्ताे छ विज्ञप्ति