पोखरा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने पक्का भएको छ । बालेन्द्र साहसहित अधिकांश जेनजी पुस्ताको चाहना र सबैतिरबाट कार्कीलाई चुनावी सरकारको प्रमुख बनाउँदा उपयुक्त हुने सुझाव आएपछि राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारीमा जुटेका हुन् ।
नेपालको संविधानको धारा ६१(४) अन्तर्गत “बाधा अड्काउ फुकाऊ” सम्बन्धी व्यवस्थामा “संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हो” भन्ने छ । सोही धारा र व्यवस्थालाई आधार मानेर राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
अन्यथा नभए राष्ट्रपति शुक्रबार बिहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइने छन् ।
आफूले गर्न लागेको निर्णयबारे पौडेलले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेतालाई जानकारी गराईसकिएको बताइएको छ। तर राजनीतिक दलहरुले संघीय संसदको सदस्यमात्रै प्रधानमन्त्री हुन पाउने संविधानमा व्यवस्था रहेको भन्दै संविधान नमिच्न आग्रह गरिरहेका छन् ।
उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए ।
सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ। यसअघि नै जेनजी प्रतिनिधिहरूले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए ।
कार्की प्रधानमन्त्री बनेमा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने शौभाग्य पाउनेछन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । नेपालले महिला राष्ट्रपति, सभामुख पाइसकेको छ ।
देशको प्रतिकुल परिस्थितिमा कार्कीका सामू निकै धेरै चुनौती छन् । जेनजी आन्दोलनका कारण देशभरका भौतिक संरचना ध्वस्त भएको अवस्था, राजनीतिक दलहरु बाहिर रहेको अवस्था र सबै पक्षलाई साथमा लिएर हिंड्नुपर्ने अवस्थाका कारण कार्कीले निकै धेरै चुनौतीको सामना गर्नुपर्ने देखिएकाे छ ।