Nidan Media

शीतलनिवासमै छन् राष्ट्रपति

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै रहेको पाइएको छ । उनले बिहीबार शीतलनिवासमै बसेर प्रधानसेनापति र विज्ञसँग छलफल गरेका थिए । नयाँ सरकार गठनको तयारी हुँदै गर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने सबैको चासो रहेको थियो ।

राष्ट्रपति छिटो भन्दा छिटो सार्वजनिक गर्न धेरैले माग गरेका थिए भने धेरैले सेनाको नजरबन्दमा रहेको आशंका गरेका थिए ।

बिहीबार बेलुकी राष्ट्रपति पौडेलसँग शीतलनिवासमा संविधानविद् विपिन अधिकारी, पूर्णमान शाक्य र भिमार्जुन आचार्यले भेट समेत गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिले उत्पन्न परिस्थितिको निकास दिनेबारे कुराकानी गर्न बोलाएको बताएका थिए ।

छलफलमा ललित बस्नेत, सूर्य ढुंगेल, चन्द्रकान्त ज्ञवाली पनि थिए । ‘यसको संवैधानिक, राजनीतिक पाटो के हुन्छ भन्ने परामर्श गर्न बोलाएको हुँ,’ भन्दै राष्ट्रपतिले कुराकानी सुरु गरेको स्रोतको भनाइ छ ।

त्यसपछि प्रधानसेनापति अशोकराज सिग्देलले बाहिर विभिन्न अफवाह फैलिने क्रम सुरु भएको भन्दै छिटो सरकार गठन गरिदिए सजिलो हुने बताएको स्रोतको भनाइ छ ।

तीनै जनाले संविधानको पालक र संरक्षक राष्ट्रपति भएकाले चाहे आवश्यकताको सिद्धान्त वा उपलब्ध जुनसुकै बाटोबाट चुनाव गराउने गरी नागरिक सरकार बनाउन राष्ट्रपतिले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

‘राष्ट्रपतिले सरकार गठनका लागि अग्रसरता लिन सक्ने हक संविधानले दिएको छ, त्यो हक नै प्रयोग गर्नुपर्छ,’ उनीहरुको सुझाव उद्धृत गर्दै स्रोतले भन्यो, ‘नागरिकको शासन, लोकतान्त्रिक मूल्य, मान्यता र संविधानवाद तीन कुरालाई उपेक्षा गुर्न हुँदैन । त्यो नै अबको बाटो हो ।’

दुई घण्टासम्म यो बैठक चलेको स्रोतको भनाइ छ । राति १० बजे सबैजना शितलनिवासबाट निस्किएका थिए । स्रोतका अनुसार, संविधानविद् अधिकारीले २०४७ सालमा जसरी बाधा फुकाइएको थियो, २०६२/६३ मा जसरी गरिएको थियो, अहिलेको शून्यता फर्काउन त्यही बाटो लिनुपर्ने बताएका थिए ।

यसअघि राष्ट्रपति पौडेल र सभामुख देवराज घिमिरेबीच पनि बिहीबार दिउँसो भेटवार्ता भएको थियाे । संसद् विघटन गर्ने कि संसद् राखेर अघि बढ्ने भन्ने विषयमा विवाद जारी रहँदा उनीहरुबीच भएकाे भेटलाई महत्वपूर्ण ठानिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.