पाेखरा । रामेछाप कारागारमा बिहीबार बिहान भएको झडपमा गोली चल्दा २ कैदीकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन् ।
कारागारभित्र कैदीहरूले बाहिर जानुपर्ने भन्दै आन्दोलित भएपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको हाे ।
मृत्यु हुनेमा मोरङका ३५ वर्षका राजकिशोर यादव र धनुषाका ५८ वर्षीय बिगुरु धोबी छन् ।
यादव बलात्कार मुद्दामा कैदी थिए भने धोबी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका थिए। दुबै जनाको शव रामेछाप अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ ।
घटनामा परी अन्य ११ जना कैदी घाइते भएका छन्। जसमा वतन नखुलेका २९ वर्षीय नारायण बस्याल, ४० वर्षीय मनोज हमाल, ३० वर्षीय नवीन रसाइली, ३१ वर्षीय अरुण साह, २३ वर्षीय विनोस् ढकाल, २८ वर्षीय श्रवण अधिकारी, ३० वर्षीय मोहम्मद मिया, ३५ वर्षीय चन्द्र बिक र ३१ वर्षीय उदयपुरका रोहित दनुवार छन् ।
यस्तै वतन र उमेर खुल्न नसकेका रामचन्द्र मण्डल र हकिम सुनुवार पनि गोली लागि घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घटनापछि कारागारको स्थिति सामान्य बनेकाे छ ।