पोखरा । होटल संघ नेपालले पर्यटकलाई आवागमनमा सहजीकरण गर्न आह्वान गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्यटकमैत्री वातावरण सृजना गरी अलपत्र यात्रुको सहज व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित सबैबाट यथोचित पहल हुनुपर्ने होटल संघ नेपालको आह्वान छ ।’
संघले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनासँगको सहकार्य र संयोजनमा प्रभावित पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरणमा काम भइरहेको जनाएको छ । साथै, अलपत्र परेका पर्यटकलाई होटल आवश्यक परेमा संघमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
संघले आसन्न चाडपर्व र पर्यटकीय याम प्रारम्भ हुने समयमै सिर्जित चुनौतीपूर्ण परिस्थितिबाट नेपालमा रहेका तथा आउने पर्यटकलाई सहज व्यवस्थापन गर्नु जरुरी भएको बताएको छ । यसमा सम्बन्धित सबैको प्राथमिकता र पहल भएमा हालै देखिएको अत्यधिक तथा अप्रत्याशित ‘क्यान्सिलेसन’ रोक्न मद्दत पुग्ने उल्लेख गरिएको छ ।