Nidan Media

आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन बाबुराम भट्टराईको अपिल

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन जेनजीलाई अपिल गरेका छन् ।

उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रियामा भनेका छन्,‘आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्नुहुन्न । अधिकतम् र न्यूनतम लक्ष्य किटान गरेर र शक्ति सन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ ।’

जेनजीलाई शान्तिपूर्ण आन्दोलनमा दृढ रहन भन्दै उनले कसैको वहकाउमा नआउन समेत आग्रह गरे ।

नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता प्राप्त गर्न संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्ने उनले बताए ।

यस्तो भट्टराईको अपिल

GEN-Z का नवयुवाहरूसँग हार्दिक अपिल
प्रिय नवयुवा साथीहरू,
अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन !

भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना१ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!
देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ !

साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ – History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्। (त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला)

-आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ।

-संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न।

-आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र भेडाको छाला ओढेर आउने ब्वाँसाहरूलाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।

-भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस् भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।

तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना !

-बाबुराम भट्टराई

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.