पोखरा । पोखरामा पनि जेनजीको प्रदर्शन उग्र बनेको छ । सभागृह हलमा शान्तिपूर्ण प्रदर्शन गरेका युवाहरु गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित अधिकांश सरकारी कार्यालय क्षेत्रमा पुगेर प्रदर्शन गर्नुका साथै सरकार भवनमा ढुंगा प्रहारसमेत गरेका थिए ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट मुख्यमन्त्री कार्यालयका झ्यालका केही सिसा र एक सरकारी गाडीका सिसासमेत फुटेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले लाठी र पानीको फोहोरा हानेर भिड नियन्त्रणको प्रयास गरिरहेको छ ।
साथै पत्रकार अपिल त्रिपाठी आफै आन्दोलनमा सहभागी भएर प्रदर्शन शान्तिपूर्ण बनाउने प्रयास गरिरहेका छन् । उनी प्रदर्शनकारी नजिक पुग्दा उनको पक्षमा नारा लगाइएको थियो ।
जेनजीले पोखराको न्यूरोडस्थित सभागृहभित्र आज बिहान १० बजेदेखि नै स्वतस्फूर्त रुपमा सहभागी भएर प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले हालै गरेको सामाजिक सञ्जाल बन्द र नेताहरुको भ्रष्टाचारसम्मका विषयमा नाराबाजी गरेका छन् । पोखराका विभिन्न स्थानबाट आएका युवाहरु सभागृहमा जम्मा भएर सरकार र नेताबिरुद्ध आक्रोश पोखेका थिए।
उनीहरुले ‘जनता जति खाडीमा, तिमी चाहीँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रष्ट नेता होसियार’ जस्ता आधा दर्जन बढी नारा लगाएका थिए ।
केहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नामसहित नाराबाजी गरे भने केही युवाले नेताको नाम नलिने आग्रह गर्दै प्रदर्शन शान्तिपूर्ण बनाउने प्रयास गरेका थिए ।
उनीहरुले कर तिरेर नागरिकले दुःख भोगिरहेका तर नेताहरु र तिनका परिवार सुख शयलमा जीवन बिताइरहेको भन्दै आपत्ति जनाए ।
पोखरामा अहिले दिउँसो घाम लागे पनि बिहान ११ बजेसम्म वर्षा भएको थियो । वर्षाको प्रवाह नगरी उनीहरु प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनमा सहभागी युवाले नेपालको झण्डा बोक्नुका साथै पम्लेट वितरणसमेत गरेका थिए ।