बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप-महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको आयोजनामा भएको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताए ।
समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि बिचौलिया अर्थतन्त्रमा पुगिएको बताए । नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताए ।
उनले भने, “उदारवाद अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो ।”
नेता पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे ।