पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा ९३ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार संघका २ हजार १९ मतदातामध्ये १ हजार ८ सय ८१ अर्थात् ९३ प्रतिशतले मतदान प्रक्रियामा भाग लिएका हुन् ।
निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको आचार्यले बताए । मतपेटिका सुरक्षाकर्मीको निगरानीमा राखिएको र आइतबार बिहान ७ बजेदेखि गणना सुरु हुने उनले बताए । आगामी २ वर्षे कार्यकालका लागि १९ सदस्यीय कार्यसमिति चुन्न ३७ जनाले उम्मेद्वारी दिएका छन् ।
मतदान भइरहँदा दिनभरजसो लेखनाथ उद्योग वाणिज्य संघ परिसरमा व्यवसायी र राजनीतिक दलका प्रतिनिधि एवं सरोकारवालाले भरिभराउ बनेको थियो । यसपालि महिला उम्मेद्वारले नेतृत्वका दाबी गरेपछि चुनाव झनै रोचक बनेको छ । आगामी नेतृत्वका लागि राजेन्द्र ओझा र जानुका अधिकारी पराजुलीबीच कडा प्रतिस्पर्धा रहेको छ ।
ओझा हाल वरिष्ठ उपाध्यक्ष तथा अधिकारी महासचिव हुन्। दुबै प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् । अधिकारी टिमलाई नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ छ भने ओझा टिमलाई एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन छ । संस्थागत सदस्यमा वीरभद्र कँडेल निर्विरोध निर्वाचित भइसकेका छन् ।
ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु), प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुंगाना (एलपी) र कोषाध्यक्षमा टीकाराम सापकोटा उम्मेद्वार छन् ।
यसैगरी, पराजुली प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेदवारी दिएका छन् ।
१९ सदस्यीय कार्यसमितिमा ८ खुला सदस्यका लागि १६ जना प्रतिस्पर्धामा छन् ।
ओझा प्यानलबाट भीमप्रसाद सुवेदी (सन्तोष), घनश्याम ढुंगाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी र सुरेन्द्र गुरुङ प्रतिस्पर्धामा छन् ।
पराजुली प्यानलबाट खुला सदस्यमा भविन्द्र पुन (भविन), वीरेन्द्रराज भूर्तेल, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, सन्दीप बुढाथोकी र सुजन न्यौपाने छन् ।
२ महिला सदस्यका लागि सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार), गंगा सापकोटा परियार र शर्मिला श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । तीमध्ये सपना र लक्ष्मी ओझा प्यानलका हुन् । एक एसोसिएट सदस्यमा प्रवेश बञ्जरा र दयाराज भण्डारी छन् । तीमध्ये दयाराज चाहिँ पराजुली प्यानलका हुन् ।
दुवै पक्षले व्यवसायीको समस्या समाधान, व्यवसायमैत्री नीति निर्माण, उद्योग व्यापार र पर्यटन प्रवर्द्धन, महिला तथा युवालाई उद्यमशीलतामा प्रोत्साहनजस्ता कार्यक्रमलाई प्राथमिकता राखेर चुनावी घोषणपत्र जारी गरेका छन् ।