पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् ।
नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी-व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा उनले वर्तमान सरकार बुद्धिले बनेको नभई दलाल र विचौलियाको धाक र धम्कीबाट बनेको आरोप लगाए ।
उनले भने, ‘कांग्रेस-एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो । हिजो डरले बनेको हो । आज पनि डरले बचेको सरकार हो । कांग्रेस-एमालेभित्रका इमान्दार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’
अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गरे ।
उनले महासंघका पदाधिकारी सक्षम, जिम्मेवार र देशको उद्योग-व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राखे ।
प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भने, ‘हामीले एक सय २३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं । ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन् ।’
उनले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताए ।
सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौँ ।’
माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उनले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ । ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’
सहकारी क्षेत्रमा ठगी गर्नेप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस-एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए ।