झापा । झापामा खोलामा डुबेर शनिबार एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका वडा नं ६ पैनीटोलका ६२ वर्षीय सोनुलाल मुर्मु छन् ।
भद्रपुर नगरपालिका वडा नं ३,भैसाबाडीस्थित मेची खोलामा डुबेर मुर्मुको मृत्यु भएको हो ।
शनिबार दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए ।
तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार मृतक मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।