Nidan Media

लेखनाथ उद्योग वाणिज्य संघमा निर्वाचन आज, कस्ले जित्ला ?

निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ : अध्यक्ष ढकाल

पोखरा । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जे चिजको सम्भावना छ सोही चिजको खोजी गरी आर्थिक उपार्जनतर्फ लाग्न व्यवसायीलाई आग्रह गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवं १५औं महाधिवेशन शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपाल गर्दै निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले निष्ठा, इमानदारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव रहेको स्पष्ट पारे । औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राखे । उनले केन्द्रीय स्तरबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने, विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधानका लागि रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राख्दै पर्यटनको प्रचुर संभावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै संभावना भएको क्षेत्र भएकाले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयातलाई विस्थापित गर्ने कार्ययोजना अनुसार अघि बढ्न सुझाव दिइन्।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरे भने सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।

यसैबीच संघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको कार्य सम्पन्न हुने भएको छ । संघको १९औं साधारण सभा तथा १५औं अधिवेशनअन्तर्गत भदौ २१ गते शनिबार बिहान ७ बजेदेखि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न पदका ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आआफ्नो टिमबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।

को-को छन् ओझा टिममा ?

ओझा टिमबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटाको उम्मेद्वारी परेको छ ।

यस्तैगरी खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) छन् । यस्तै महिला सदस्यमा सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार), एसोसिएट सदस्यमा प्रवेश बन्जरा, संस्थागत सदस्यमा वीरभद्र कँडेलले उम्मेद्वारी दिएका छन् ।

को-को छन् अधिकारी टिममा ?

अधिकारीका टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी) महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेद्वारी दिएका छन् ।

यस्तै, खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उम्मेद्वारी दिएका छन् ।

यही समूहबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उम्मेद्वारी परेको छ ।

संस्थागत सदस्य पदका उम्मेद्वार वीरभद्र कंडेल दुवै समुहका साझा उम्मेद्वार बनेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार भदौ १५ गतेसम्म उम्मेद्वारीको नाम फिर्ता लिने र सोही दिन उम्मेद्वारका अन्तिम नामावली फिर्ता लिने कार्य तालिका रहेको निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।

संघको नयाँ नेतृत्वका लागि यही भदौ २० र २१ गते १५औं अधिवेशन हुँदैछ । नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएपछि को ठीक भन्दै विश्लेषण पनि भइरहेको छ । नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेद्वारका दौडधूप म्याराथन शैलीमा तीव्र छ । केही उद्योगी व्यवसायी कित्ताकाट गरेरै उम्मेद्वारका पछाडि लागेका छन् ।

दुवै समूहले संघमा गर्ने आआफ्ना प्रतिवद्धतासहित संघका मतदाता उद्योगी व्यवसायी भेटघाट र छलफल तीव्र पारेका छन् ।
पोखरा महानगरपालिका (साविक लेखनाथ) का आठ वडा, कास्कीको रुपा र मादी लेखनाथ उद्योग वाणिज्य संघको कार्यक्षेत्र पर्छ । संघमा दुई हजार १९ जना सदस्य छन् ।

यस्तो छ ओझा समूहको प्रतिवद्धता

चुनाव केन्द्रित गरेर ओझा समूहले प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरिसकेको छ । ओझा समूहले ‘हाम्रो आधार, हाम्रो दृष्टि, हाम्रो लक्ष्य, हाम्रो प्रतिवद्धता र विशेष योजना’ भन्ने नाराका साथ छ बुँदे आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

अध्यक्षका उम्मेद्वार ओझाको अध्यक्षमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उपेन्द्रराज सुवेदी राजुले स्वागत र महासचिवका उम्मेद्वार जीवन तिवारीले सञ्चालन गरेका थिए । सो अवसरमा संघका पूर्वअध्यक्ष बलराम ढकाल र लक्ष्मीप्रसाद त्रिपाठीसमेत सहभागी थिए ।

संघले व्यवसायीको हित र संरक्षणलाई प्राथमिकता दिने, व्यापार-व्यवसायमैत्री नीति निर्माणमा जोड दिने र युवामुखी उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने ओझा समूहको प्रतिवद्धता छ । साथै स्थानीय उद्योग तथा पर्यटनलाई विस्तार गर्ने, व्यवसायीको समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने र महिलाको सहभागिता बढाउने प्रतिवद्धता समेत यो समूहको छ । आफूहरूको टिमलाई व्यवसायी–हितैषी, पारदर्शी र समन्वयकारी रूपमा प्रस्तुत गर्ने यो समूहले उद्घोष गरेको छ ।

अध्यक्ष पदका उम्मेद्वार ओझाले भने, “हामी व्यवसायीका साझा मञ्च हौँ, सदस्यको अधिकार र हित सुरक्षित गर्न हामी दृढ छौँ, पारदर्शिता र उत्तरदायित्व हाम्रो मुख्य आधार हुनेछ ।”

उनले स्थानीय कृषिका उत्पादन, हस्तकला र घरलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री, डिजिटल भुक्तानी र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना सुनाए ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्नुका साथै डिजिटल साक्षरता र प्रविधिमैत्री व्यवसायिक वातारण निर्माणमा ध्यान दिइने उनले स्पष्ट पारे । उनले भने, ‘व्यवसाय सहयोग कक्ष र समस्या समाधानका लागि हेल्प डेस्क स्थापनाका अलवा अत्याधुनिक प्रविधिमैत्री उद्योग वाणिज्य संघ बनाइने छ ।’

उनले सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेसन र ईपेमेन्ट सजिलै उपलब्ध गराउने भन्दै लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएको उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार सुवेदीले अनुभवी र योग्य राजेन्द्र ओझाको समूह ‘धैर्यता, निरन्तरता, क्रमागत, उद्यमशीलता, विधिको नेतृत्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको बताए ।

उनले हरेक वर्षमा हुने महोत्सवलाई अबदेखि एक कार्यकाल एक ऐतिहासिक महोत्सव आयोजना गर्ने प्रस्ताव गरे ।

उनले महोत्सव गर्दा लेखनाथको व्यवसायलाई प्राथमिकता, स्थानीय उत्पादनको प्रवर्द्धन र व्यवसाय प्रवर्द्धनमुखी कार्यक्रम गर्ने बताए ।

पहिले भएका छुटसम्बन्धी सम्झौतालाई निरन्तरता दिने भन्दै उनले आगामी कार्यकालमा बीमा, यातायात, होटल, शिक्षा, स्वास्थ्य र व्यवसायसम्बन्धी थप सम्झौता गर्ने स्पष्ट पारे ।

उनले भने, “संघले विगतमा गरेका राम्रा कामलाई निरन्तरता दिँदै नयाँ प्रविधि र बजार व्यवस्थापन प्रणाली लागू गर्ने हाम्रो योजना छ ।”

महासचिवका उम्मेद्वार तिवारीले डिजिटल/वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत संघमा आवद्धमा व्यवसायीलाई ईकमर्स, अनलाइन बैँकिङ, कर तथा राजस्व डिजिटल प्रणालीमा दक्षता बनाउने बताए ।

उनले रुपा र मादी गाउँपालिकासँग सहकार्य गरी स्थानीय उत्पादन, पर्यटन, र होम स्टे प्रवर्द्धनमा ध्यान दिने स्पष्ट पारे । तिवारीले संघको स्थापना दिवस (असार २०)लाई व्यवसायीको उत्सवको रुपमा मनाउँदै उत्कृष्ट व्यवसायी सम्मान, प्रेरणादायी सत्रको आयोजना गर्ने योजना सुनाए ।

संघका पूर्वअध्यक्ष बलराम ढकालले सामूहिक नेतृत्व र संस्थागत विकासमा काम गर्न सुझाव दिए । उनले आर्थिक संकटको कारण उद्योगी व्यवसायीको गिरेको मनोवल उकास्ने योजना आवश्यक भएको बताए ।

यस्तो छ अधिकारी समूहको योजना

अधिकारीको समूह स्थानीय उत्पादन (जेठोबूढो चामल, मह कफी, उखु) को प्याकेजिङ, ब्राण्डिङ र बजारीकरण गर्ने योजनामा छ । ‘इमान्दारिता, पारदर्शिता र लगनशीलता व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ सो समूहले लेखनाथका सानाठूला उद्योगी व्यवसायीको हक हितमा आवाज उठाउनुका साथै निजी क्षेत्रको नीतिगत सुधारमा ध्यान दिने योजना बनाएको छ ।

बेगनासलगायतका सात तालमा पर्यटनको आकर्षण गराउन सक्ने खालका गतिविधि गर्न तीन तहका सरकारसँग समन्वय र सहकार्य गर्नुका साथै धर्म संस्कृतिको संरक्षण र जगेर्नाको लागि बाराह मन्दिरलगायतका धार्मिक क्षेत्रमा धार्मिक पर्यटन भित्र्याउने खालका गतिविधि गर्ने स्पष्ट पारेको छ ।

अध्यक्ष पदका उम्मेद्वार अधिकारीले आफ्नो टिम समावेशी भएको दावी गरिन् । उनले संघको इतिहासमै पहिलोपल्ट महिला नेतृत्व आउने लक्ष्यका साथ चुनावी दौडमा होमिएको बताइन् । समग्र व्यवसायीको हकहित, संरक्षणसहित व्यवसाय प्रवर्द्धनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

उनले व्यवसायीको हकहित र समस्या समाधानका लागि नीतिगत तहमा आफ्नो आवाज पुर्‍याउने प्रतिबद्धता जनाएकी छन् ।

साततालको बाटिका सहर लेखनाथलाई पर्यटकीय गन्तव्य बनाउन सरोकारवाला निकायसँग सहयोग गर्ने, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापनका लागि तीन तहका सरकारसँग सहकार्य गर्ने, बेगनासको तालवाराह मन्दिरको प्रचार गर्ने, कृषि क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिने आफ्नो लक्ष्य रहेको उनले बताइन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.