Nidan Media

एभरेष्ट महिला भलिबल लिग : कर्णाली यशविस र ललितपुर क्विन्सकाे सुखद् शुरूआत

पोखरा । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुक्रबारदेखि पोखरामा शुरू भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी शुरूआत गरेका छन् । आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन-तीन अङ्क बटुलेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३-० को सोझो सेटमा जित निकालेको हो । कर्णालीले पहिलो सेट २५-२१ ले जित्यो । दोस्रो सेटमा २५-२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५-१४ अङ्कले जितेर उत्कृष्ट शुरूआत गरेको हो ।

यसैगरी, दोस्रो खेलमा ललितपुरले मधेस युनाइटेडलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१९ ले जित निकाल्यो ।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबीच खेल हुने आयोजकले जनाएको छ । शनिबारको अन्तिम खेल पोखरा निन्जाज र मधेस युनाइटेडबीच हुनेछ ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगमा छ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले ‘सिङ्गल राउण्ड रोविन’का आधारमा एकआपसमा खेलेपछि बढी अङ्क जोड्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.