Nidan Media

समाजले नैतिक मूल्य, मान्यता र सदाचारको खोजी गरिरहेको छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। समाजले नैतिक मूल्य, मान्यता र सदाचारको खोजी गरिरहेको उनको भनाई छ ।

पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै भट्टले भने, ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो ।’

समानता र सहअस्तित्वमा आधारित मानवताको संवद्र्धन र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उनले आभार व्यक्त गरे ।

‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो’, उनले भने, ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’

हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिँदै उनले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने बताए ।

मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उनले खुशी प्रकट गरे ।

तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उनको भनाई छ ।

उनले भने, ‘मानव मिलन संस्थाले जाती, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.