पाेखरा । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुरू भएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन ललितपुरको सनराइज सभाहलमा शुरू भएको हो ।
महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् ।
महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ ।
मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन् । यसका साथै मञ्चको बायाँतिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दायाँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन् ।
महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशाेधन प्रस्ताव प्रस्तुत हुनेछ ।
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना गरी कुल दुई हजार तीन सय ४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।