पोखरा । सिन्धुलीमा शुक्रबार बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नं ९ बथानचौडीका भुवन भुजेल छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सोही स्थानका टेकप्रसाद दाहालको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
एसपी सुवेदीका अनुसार कमलामाई नगरपालिका वडा नं ९ बथानचौडी नजिकै मदन भण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँ आउँदै गरेको ट्रकले पैदलयात्रामा रहेको भुजेल र दाहाललाई ठक्कर दिएको थियो ।
पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको एक घरमा ठोक्किएको छ । जसका कारण घरको गारो भत्कनुका साथै घरमा पालिएका २० वटा पन्छी पनि मरेका छन्।
ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।