Nidan Media

नेकपाको विधान महाधिवेशन आजदेखि, पोखरेल र थापाले फरक मत लैजाने

पोखरा । सत्तारूढ दल नेकपा (एमाले) को यही दोस्रो विधान महाधिवेशन आजदेखि शुरु हुँदैछ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित हुने महाधिवेशन दुई दिनसम्म चल्नेछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आज भव्य समारोहका बीच उद्घाटन गर्ने महाधिवेशन ललितपुरको सनसराईज हलमा हुनेछ ।

महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन्। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवशेनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्। उनले विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताए।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ। यसैगरी, महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गरिने छ। सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित ‘समाचार डेस्क’ स्थापना गरिएको छ ।

महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ भने सातदोबाटोबाट गोदावरीसम्म सार्वजनिक यातायातको प्रबन्ध गरिएको छ ।

पार्टीका पोलिटब्यूरो सदस्य बिनोद श्रेष्ठका अनुसार, आवश्यक परेको खण्डमा मतदान नै पनि गर्नेगरी तयारी गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाइमा, सोही अनुसार व्यवस्थापन गरिएको छ । केन्द्रीय कमिटीले पास गरेकै विषय जस्ताको तस्तै अघि नबढ्ने उनले बताए ।

महाधिवेशनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।

यो महाधिवेशनलाई पार्टीपंक्तिमा चासोका साथ हेरिएको छ । विशेषगरी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेपछि यो बहस पेचिलो बन्दै गएको छ ।

यसैबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता कर्ण थापाले महाधिवेशनमा फरक मत लैजाने तयारी गरेको बताइएको छ । बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।

यता, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषय मुख्य एजेण्डा बनेको छ । बिहीबार दिउँसो चार बजेदेखि झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीबारे लामै छलफल भएको नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईले पार्टी निर्णय सच्याउनुपर्ने तर्क गरेका थिए ।

यसैबीच पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिलाई छुट्टै अपिल पत्र पठाउने तयारी गरेकी छन् । महाधिवेशन प्रतिनिधिहरूलाई उनले आफ्नो विश्वास र आस्थामाथि एमालेले कुठाराघात गरेको सन्देश दिने तयारी गरेकी छन् । के कति कारण र कसरी आफूमाथि कदम चालियो भन्नेबारे उनले लिखित रुपमा बताउने तयारी गरेकी छन् ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.