पोखरा । पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को पूर्वसन्ध्यामा पोखरा टिम धनराज र टिम राजेश बिचमा मैत्रीपूर्ण भलिबल सम्पन्न भएको छ । लेकसाइडस्थित क्याम्पिङ चौरमा भएको खेलमा टिम धनराज विजयी भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य नेतृत्वको टिम धनराज र महानायक राजेश हमाल नेतृत्वको टिम राजेश बिचमा भएको प्रतिस्पर्धामा टिम धनराज २-१ को सेटमा विजयी भएको हो ।
खेलको पहिलो सेट हात पारेको टिम राजेशका विरुद्ध टिम धनराजले खेलमा पुनरागमन गर्दै लगातार दुई सेट हात पार्याे ।
खेलमा दुवै टिमलाई लिगमा सहभागी टोलीका क्याप्टेनहरूले पनि साथ दिएका थिए । निकै रोमाञ्चक भएको खेलमा दर्शकले उत्साहपूर्ण साथ दिएका थिए ।
यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) हुँदैछ ।
नेपाल भलिबल सङ्घको आयोजनामा हुने लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए ।
भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ ।
आयोजकका अनुसार सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो ।
प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।