Nidan Media

पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागद्वारा छात्रवृत्ति प्रदान

पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित विभागीय छात्रवृत्ति बिहीवार एक समारोह बीच प्रदान गरिएको छ ।

विभागद्वारा सञ्चालित दुई छात्रवृत्तिमध्ये पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा स्थापित शालिग्राम-कृष्ण पौडेल छात्रवृत्ति कुश्मा-३ पर्वत निवासी रमाकान्त पौडेलले प्राप्त गर्न सफल भए । उनले मानविकी तथा समाजशास्त्र संकायतर्फ पहिलो र दोस्रो सेमेष्टरमा ३दशमलव३२ जिपीए अङ्क ल्याएर उत्कृष्ट भएका हुन् ।

मुक्तकमणि तीर्थराज अधिकारीद्वारा स्थापित सीता-तीर्थ अधिकारी छात्रवृत्ति पोखरा-११, कास्की निवासी रश्मिता पौडेल अधिकारीले प्राप्त गरिन् । उनी ३दशमलव०३ जिपीएसहित छात्रातर्फ उत्कृष्ट भएकी हुन् ।

उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्दै कार्यक्रमका सहायक क्याम्पस प्रमुख गजेन्द्रप्रसाद च्वाईले विभाग र विद्यार्थीको प्रोत्साहनका लागि दुई अक्षयकोषका दाता कृष्णप्रसाद पौडेल र तीर्थराज अधिकारीको योगदानको अतुलनीय रहेको धारणा राखे ।

उनले परदेशमा रहे पनि विभागमा छात्रवृत्ति कोष स्थापना गर्ने अनेसासको बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारी र विभागबाट प्राविधिक हिसाबले सेवा निवृत्त भएर पनि विभागीय सदस्य जसरी साथ दिने पौडेललाई यसरी नै विभागको हितमा लाग्न आग्रह गरे ।

छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्रा बाध्यताले परीक्षाका बेला गहभरी आँसु बोकेर बच्चाबच्ची च्यापेर आए पनि सिकाइका अन्य साधन र प्रविधिकोे प्रयोगबाट उत्कृष्ट हुन सफल भएकामा बधाई ज्ञापन गर्दै अध्ययनलाई यसरी नै निरन्तरता दिन सुझाए ।

उनले थपे, गुरुसँग ज्ञान धेरै हुन्छ । प्रत्यक्ष भएर पढ्दा सिकाइ प्रभावकारी हुन्छ, त्यो सम्भव भएन प्रविधिको प्रयोग गरेर पढ्नूहोस् ।’

सहायक क्याम्पस प्रमुख शंकर पौडेलले नेपाली विभाग भौतिक संरचना, साधन र स्रोतका हिसाबले आफैँमा सफल र उत्कृष्ट विभाग भएकाले अब नेपाली वाङ्मय र नेपाली भाषा जोगाउन हामी जाग्न आवश्यक रहेको छ भने ।

कोषका संस्थापक कृष्णप्रसाद पौडेलले आफू विभागीय प्रमुख भएका बेला विभागका लागि केही गरौँ भन्ने उद्देश्यले बुबाको स्मरणमा कोष स्थापना गरेर विद्यार्थी प्रोत्साहनमा लागेको बताए ।

विभागीय प्रमुख डा. यमनाथ तिमिल्सनाले विभागमा दुई छात्रवृत्ति कोष रहेकोमा थप एक कोष थपेर विभागलाई थप हौसला बढाएकामा धन्यवाद ज्ञापन गर्दै अक्षयकोष परिचालनका लागि कार्यविधि बनाएर अगाडि बढाइने जानकारी गराए ।

विभागीय सदस्य प्रा.डा. विष्णुप्रसाद पौडेलले नेपाली अध्ययन गर्ने विद्यार्थी थोरै भए पनि अवसर धेरै रहेकाले रचनात्मक कर्मका साथ आफूलाई क्रियाशील तुल्याउन आग्रह गरे ।

विभागीय सदस्य डा. लक्ष्मीशरण अधिकारीले लिन मात्र खोज्ने मान्छे सदा एक्लो हुने बताउँदै पौडेल र अधिकारी परिवारलाई आफूसँग भएको क्षमता, स्रोत र साधन दिँदै हिँड्ने प्रतिभाकारूपमा चित्रण गरे ।

वर्तमानमा सबै स्रोत र साधन हुँदाहुँदै पनि कक्षा १२ मा नेपाली पढाउने शिक्षकको अभाव हुन थालेकाले आफू जुन क्षेत्रमा लागिन्छ त्यसमा मेहनतका साथ लाग्न सुझाव दिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले समाजमा भौतिक वस्तुको मूल्य क्षणिक हुने भएकाले विभाग र अक्षयकोषदाताको विश्वास र भरोसालाई थप जीवन्त राख्दै उत्कृष्ट नतिजासहित शैक्षिक यात्रा अगाडि बढाउन सुझाए ।

डा पुण्यप्रसाद शर्माले यस्ता छात्रवृत्तिले विभागलाई अगाडि बढाउन र विद्यार्थी प्रोत्साहनमा हौसला मिल्ने भन्दै दाताप्रति आभार व्यक्त गरे ।

सोही समारोह बीच पूर्व विभागीय सदस्य सूर्य खड्का बिखर्चीले विभागीय अक्षयकोषका लागि ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।

छात्रवृत्ति प्राप्त छात्र रमाकान्त पौडेलले क्याम्पस परिवारबाट प्राप्त साथ र सहयोगबाट नै यो सफलता प्राप्त भएको धारणा राखे ।

छात्रवृत्ति प्राप्त छात्रा रस्मिता पौडेल अधिकारीले आफ्ना व्यक्तिगत कारणले नियमित क्याम्पस आउन नसके तापनि आफ्नो अध्ययन क्षेत्रलाई उत्कृष्ट बनाउन निरन्तर लाग्ने बताइन् ।

अध्यक्षको आसनबाट बोल्दै विभागीय प्रमुख डा. यमनाथ तिमिल्सनाले विभागमा दुई छात्रवृत्ति कोष रहेकोमा थप एक कोष थपेर विभागलाई थप हौसला बढाएकामा धन्यवाद ज्ञापन गर्दै अक्षयकोष परिचालनका लागि कार्यविधि बनाएर अगाडि बढाइने जानकारी गराए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.