Nidan Media

अफगानिस्तानको महाभूकम्पमा ज्यान गुमाउनेको संख्या १४ सय पुग्यो

तीन हजार पाँच सयभन्दा बढी मानिस घाइते

पोखरा । पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर आइतबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनको संख्या एक हजार चार सय पुगेको छ । ६ रेक्टर स्केलको उक्त भूकम्पका कारण हालसम्म तीन हजार पाँच सयभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पले करिब पाँच हजार चार घर ध्वस्त बनाउँदै हजारौँलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिमध्ये एक मानिएको छ ।

केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पु¥याइएको छ । खालिद इब्न वालिद कार्प्सका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले सैन्य तथा नागरिक निकायका टोलीहरू उद्धार कार्यका लागि परिचालन गरिएको जानकारी दिए ।

उद्धारमा बाँच्न सफल भएका स्थानीयले भयानक अनुभव सुनाए । आफूले आमासँगै फूपू र उनकी छोरीलाई गुमाएको भन्दै उनले हामी केही घाइते भएको र अल्लाहको कृपाले मात्र बाँचेको बताए ।

अर्का एक जनाले यो घटना आफ्नो जीवनकै सबैभन्दा डरलाग्दो अनुभव भएको र कहिल्यै पनि यति आतंकित नभएको बताए ।

भूकम्पको क्षति कुनारमा मात्र नभई नुरिस्तान, पञ्जशिर, लगमान र नंगरहार प्रान्तका केही भागमा समेत भएको छ । ग्रामीण पुनःस्थापना तथा विकासमन्त्री मुल्ला मोहम्मद युनुस अखुन्दजादाले अहिले कुनारको अवस्थासँग जुधिरहेका भन्दै छिमेकी प्रान्तहरूमा पनि मृत्यु र घाइते भएका खबर आएको बताए ।

उद्धार कार्यमा सडक अवरुद्ध भएको कारण कठिनाइ भोगिएको छ । अफगान रेड क्रस सोसाइटी कुनारका प्रमुख अब्दुल लतिफ साबेतले सडक खुलाउने प्रयास भइरहेको र त्यसले उद्धार कार्यलाई सहज बनाउने बताए ।

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाको उपस्थिति घटेको भए पनि अधिकारीले केही संगठनले सहयोगको आश्वासन दिएको जनाएका छन् । अफगानिस्तानले पछिल्ला वर्षहरूमा लगातार प्राणघातक प्राकृतिका विपत्तिहरू भोगिरहेको छ ।

सन् २०२३ मा हेरात भूकम्पमा एक हजार चार सय भन्दा बढी र सन् २०२२ मा पाक्तिका भूकम्पमा एक हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । यसपटकको दुर्घटनाले पुनः देखाएको छ कि अफगानिस्तान संसारकै अत्यधिक भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ । एजेन्सी

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.