पोखरा । प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही बुँदामा असन्तुष्टि जनाउँदै शिक्षक, निजी विद्यालय सञ्चालकहरु र विद्यार्थीहरु सडकमा छन् । आफ्ना माग राखेर आन्दोलन शुरु गरेको नेपाल शिक्षक महासंघले पहिलो चरणको कार्यक्रम बिहीबार सकेको छ ।
अब पनि महासंघले उठाएका माग सम्बोधन नभए दोस्रो चरणमा कडा आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।
पहिलो चरमा महासंघले विभिन्न राजनीतिक दलको पार्टी कार्यालयमा धर्ना दिँदै मागसहितको ज्ञापनपत्र बुझाएका थिए । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रमसँगै पहिलो चरणको कार्यक्रम सकिएको हो ।
अब शुक्रबार महासंघको बैठक बसेर दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए । उक्त आन्दोलन निकै कडा हुने अध्यक्ष सुवेदीको भनाइ छ ।
महासंघका माग नुसनिकनै प्रतिनिधिसभा र राष्ट्रिय सभा आफ्नै ढंगले अघि बढेर ऐन जारी हुने दिशातिर गयो भने त्यसपछि लडाई विधेयक संशोधनको हुने उनले चेतावनी दिए ।
उनले भने, ‘हाम्रो मूल मुद्दा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट समाधान गरिदिनुपर्छ भन्नलाई आएका हौँ । ध्यानाकर्षणपत्र पनि पेश गरेका छौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले कुन ढङ्गले काम गर्छ त्यो अनुसार हाम्रो आन्दोलनको रुप अगाडि आउँछ । यदि ऐन जारी हुने दिशातिर गयो भने अबको लडाई संशोधनको हुन्छ ।’