Nidan Media

सहकारीलाई साँच्चिकै व्यवस्थित गर्न सम्भव छ : मन्त्री अधिकारी

पोखरा । सहकारी पीडितहरुले फेरि आन्दोलन चर्काउने भनिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनअनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अघि बढेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले एक वर्षको कार्यकालभित्र धेरै कानून बनेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा अघि बढाएको स्पष्ट पारे ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा काम गर्ने अभियान्ताले ऐनअनुसार काम गर्ने गरी नीति, नियम बनाउन र त्यसलाई कार्यान्वयन गर्ने भनेको भन्दै सोही अनुसार एक वर्षभित्रैमा धेरै कानून बनाएको बताए ।

अब कानून कार्यान्वयनको चरणमा अगाडि बढेको भन्दै मन्त्री अधिकारीले समयमा हामीले कुनै पनि कुरा नराख्ने, नियम अनुसार नचल्ने, विधि उल्लंघन गरेर जाने अनि पछि गएर समस्या आयो भनेर भन्ने कुराले समाधान नहुने बताए ।

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई सशोधन गर्ने ऐन, २०८१ मा धेरै कुराहरु समेटिएको भन्दै उनले ऐनअन्तर्गत रहेर कार्यविधि र नियम बनाउने र ऐनलाई परिवर्तन गरेर होइन सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नियमनको पाटो कमजोर भएको हुनाले पनि सहकारीमा समस्या आएको भन्दै आँट गरेर सबै बसेर सहकारीलाई साच्चिकै व्यवस्थित गरौँ भनेर लाग्ने हो भने सुधार सम्भव भएको पनि उनको भनाइ छ ।

मन्त्री अधिकारीले भने, ‘हाम्रो नियमनको पाटो कमजोर भएको हुनाले पनि सहकारीमा आजको अवस्था सिर्जना भएको हो । तर यसमा उहाँहरुको मात्रै कमि कमजोरी छैन् राष्ट्रको त्यो बेलाको अवस्थाले पनि हो । किनभने हाम्रो मुलुकमा द्वन्द्व थियो । त्यो बेला जसले जसरी सक्छ त्यसरी काम गर्यो र समस्या आएको हो यसलाई सुधार गरेर जान सकिन्छ । हामीले आँट गरेर लागेपछि सकिन्छ । सबै बसेर सहकारीलाई साच्चिकै व्यवस्थित गरौँ भनेर जाने हो भने सम्भव हुन्छ ।’

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.