Nidan Media

सुडानमा भीषण पहिरो : कम्तीमा १,००० को मृत्यु

सुडानको पश्चिमी क्षेत्रमा गएको भीषण पहिरोका कारण कम्तीमा १,००० जनाको ज्यान गएको सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ। बीबीसीका अनुसार यो घटना मर्रा पर्वतस्थित दुर्गम क्षेत्रमा ३१ अगस्टमा लगातार धेरै दिनसम्म परेको अविरल वर्षापछि भएको हो। पहिरोले तारासिन गाउँको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त बनाएको छ। संगठनले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको र केवल एक जना मात्र जीवित भेटिएको उल्लेख गरिएको छ। मृतकमध्ये बालबालिका पनि रहेका पुष्टि भएको छ।

विद्रोही समूहले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेको छ। सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धकै बीचमा आएको यो प्राकृतिक विपत्तिले मानवीय संकटलाई झनै गहिरो बनाएको छ। अल जजिराका अनुसार दारफुरका केही भागमा पहिले नै भोकमरी घोषणा भइसकेको छ भने रोयटर्सले उक्त क्षेत्रमा खाद्यान्न र औषधिको गम्भीर अभाव रहेको जनाएको छ।

सुडान लिबरेशन मुभमेन्ट/आर्मीको नियन्त्रण क्षेत्रमा पहिरो गएको हो। यो संगठन सुडानी सेनासँग मिलेर अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (RSF) विरुद्ध लडिरहेको छ। युद्धकै कारण उत्तर दारफुर राज्यका हजारौं बासिन्दा मर्रा पर्वत क्षेत्रमा विस्थापित भएर बसिरहेका थिए। अप्रिल २०२३ मा सुडानी सेना र RSFबीच सुरु भएको गृहयुद्धले देशलाई भोकमरी र जातीय संहारतर्फ धकेलेको छ। फरक–फरक तथ्यांक भए पनि अमेरिकन अधिकारीको आकलनअनुसार अहिलेसम्म करिब १.५ लाख मानिस मारिएका छन् र करिब १.२ करोड नागरिक आफ्नो घर छोड्न बाध्य भएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.