केही वर्षअघि गीतसङ्गीतमा एकछत्र राज गरेका गायक प्रकाश सपुत पछिल्लो समय विवाद र आलोचनामा परिरहेका छन्। उनका गीतहरू करोडौँ दर्शक–श्रोताले सुन्ने गर्थे, मेला–महोत्सवमा उनी व्यस्त रहन्थे। तर, एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले उनको करियरमा असर पारेको चर्चा भयो। यसबारे प्रकाश सपुत भन्छन,
“म यसै रोकिनेवालामा छैन। म असफल भए भन्ने अलिकति पनि लागेको छैन। धेरैले भनिरहनुभएको देख्छु– प्रकाशको खराब समय चल्यो।
तर, यो खराब समयमा पनि मेरो दुईवटा फिल्म रिलिज हुँदैछन्। कसरी खराब समय भन्नु?”
उनका अनुसार, पछिल्लो केही सिर्जनाले अपेक्षित सफलता नपाए पनि उनी निरन्तर सक्रिय छन्।
“मैले गरेका सबै काम चलेनन् तर मेरो काम रोकिएको छैन। म आफ्नो लयमा फर्कँदै छु, डगमगाएको छैन,” उनले थपे।
झन्डै १५० गीतमा आवाज भरिसकेका प्रकाशले आधा दर्जन फिल्ममा पनि काम गरिसकेका छन्। ‘परदेशी–२’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले हालैको चलचित्र वसन्त बाट अपेक्षित सफलता पाएनन्। त्यस्तै, उनको पछिल्लो गीत नाइँ भनेसि नाइँ पनि दर्शकले पहिलेका गीतजस्तो रुचाएनन्। तर, प्रकाश सपुत अझै आत्मविश्वासी छन् र निरन्तरता दिने बताउँछन्।