म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीसँग सबै उत्तर पाइन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एआई प्रविधि सक्रिय रूपमा प्रयोग गरिरहेको बताएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२५ मा उनले, “च्याटजीपीटीले सबै भन्दिहाल्छ, म पनि एआई मज्जाले चलाउँछु,” भन्दै प्रविधिको फाइदा लिन युवालाई प्रेरित गर्न आग्रह गरे।
उनका अनुसार प्रविधिको सही प्रयोगले सिर्जनशीलता बढाउन सकिन्छ, तर बालबालिकालाई मोबाइल र गेमको लतबाट जोगाउनुपर्ने समय आएको छ। “मोबाइलमा जे खोजे पनि पाइन्छ, त्यसैले सिर्जनात्मक कामतर्फ ध्यान दिनुपर्छ,” उनले भने।
ओलीले एआई र आईसीटी अघि बढाउने नीति मन्त्रिपरिषदबाट पारित भइसकेको जनाउँदै, नयाँ पुस्ताले अवसर पाए देशको मुहार फेर्न सक्ने विश्वास व्यक्त गरे। “हाम्रा युवाहरूमा क्षमता छ, सरकारले पूर्ण साथ दिन्छ,” उनले प्रतिबद्धता जनाए।