Nidan Media

बीपीको विचार नबुझेको मूल्यः राजसंस्था नागार्जुनको जंगलमा थन्कियो – महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा लोकतन्त्र र संस्थागत विकासको मार्गचित्र कोर्ने अग्रदूत बीपी कोइरालाको विचारलाई समयमै नबुझ्नुले देशले ठूलो मूल्य चुकाएको बताएका छन्। उनको भनाइमा, बीपीको दूरदृष्टिपूर्ण सोचलाई राजनीतिक शक्तिहरूले आत्मसात गर्न नसक्दा आजको विडम्बनापूर्ण अवस्था सिर्जना भएको हो, जहाँ राजसंस्था नै इतिहासको गर्तमा पुगेको छ।

मंगलबार बीपी स्मृति दिवसको अवसरमा बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार ः बीपी विचार’ विषयक गोष्ठीमा बोल्दै शर्माले तीव्र टिप्पणी गरे, “बीपीलाई बुझ्न नसकेकै कारण आज राजसंस्था नागार्जुनको जंगलमा थन्किएको छ।”

शर्माले बीपी कोइरालाले “राजा र मेरो गर्धन जोडिएको छ” भन्ने अभिव्यक्तिबाट लोकतन्त्र र राष्ट्र एकसाथ अघि बढ्नुपर्ने सन्देश दिन खोजेको तर त्यसको अर्थ राजसंस्थाले उल्टो रूपमा व्याख्या गरेको बताए।

“बीपीले त्यो अभिव्यक्ति शक्तिको साझेदारी र सहकार्यको सन्देश दिन खोजेका थिए,” उनले स्पष्ट पारे, “तर राजसंस्थाले त्यसलाई संकुचित ढंगले बुझेर आफ्नो अस्तित्व नै संकटमा पा¥यो।”

तीनवटै शक्तिको कमजोरी
शर्माले नेपाली कांग्रेस, कम्युनिष्ट आन्दोलन र राजसंस्थालाई एउटै कोसेलीमा राख्दै सबै पक्षले बीपी विचार बुझ्न चुक्दा देशले दीर्घकालीन असर बेहोर्नुपरेको टिप्पणी गरे।

उनले भने, “हामीबाट एउटा कमजोरी भएको छ, नेपालका कम्युनिष्ट आन्दोलनबाट अर्को, र राजसंस्थाबाट तेस्रो कमजोरी। बीपीलाई नचिन्ने यी तीनवटै धारको कमजोरीले देशको मार्ग अनिश्चित बनायो।”

बीपी विचारः आज पनि उत्तिकै सान्दर्भिक
महामन्त्री शर्माले बीपी विचारलाई केवल ऐतिहासिक स्मृति नभई समकालीन राजनीतिक विमर्शको मुख्य आधार बनाइनु पर्नेमा जोड दिए।

“बीपी विचार केवल अतीत होइन, आजको दिशानिर्देशक हो,” उनले भने, “हामीले जति चाँडो बीपीलाई बुझ्छौं, देशको समृद्धिको बाटो त्यति नै छिटो खुल्छ।”

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.