पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गरे ।
यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अंक प्राप्त गरेका थिए ।

यसैगरी कुश्मा पर्वतस्थित नमूना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रीत्तिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै २१ हजार एक सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

साथै बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङले प्रतियोगितामा सहभागिता जनाएर जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
आइतबारदेखि शुरु भएको प्रतियोगितामा ९० जनाले प्रतिस्पर्धा गरेका थिए । सहभागीले ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । कोटीहोम हेर्न र वक्तृत्वकलामा सहभागीका तर्क सुन्न पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थीसमेत सहभागी थिए ।
प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा। तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यापाने रहेका थिए ।