Nidan Media

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम 

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान गर्ने अवसर पनि नछुटाउन देशभरका भजन समूह यति वेला पोखरा केन्द्रित भएका छन् ।

भजन प्रतियोगितामा सहभागी हुने समूहले प्रतियोगितामा मात्रै नभई केही न केही दान गरेर जाने गरेको आयोजकले जनाए । भजन प्रतियोगितामा पूर्व रसुवा देखि पश्चिम महेन्द्रनगर सम्ममा ३ सय ५ समूहको सहभागिता रहेको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

 

युवा देखि वृद्ध सम्मको सहभागिताले प्रतियोगितामा रौनक छाएको उनले बताए । ‘हाम्रा जिजु  बाजेहरूले पहिल्यै देखि गाउँदै गरेको भजन अहिले प्रतियोगिताको रूपमा युवा देखि वृद्ध सम्मको सहभागिता भजन प्रस्तुत भएको छ ’ उनले भने, ‘प्रतियोगितामा ७ देखि ९७ वर्ष सम्म उमेरका व्यक्तिहरूको सहभागिताले पनि हामीलाई हौसला थपेको छ ।’

 

उनै पराजुलीको पहलमा भजन संस्कृतिलाई जगेर्ना गर्न २०५४ सालमा विन्ध्यवासिनीमा भजन प्रतियोगिता आयोजना गरेका थिए । जसले अहिले सम्म पनि निरन्तर पाएको छ । विगत देखि मानव सेवा फाउन्डेसनले भजन प्रतियोगिता आयोजन गरी धर्म संस्कृतिको जगेर्ना गर्न काम गरेको उनको भनाई थियो ।

 

भजन प्रतियोगितामा रैथाने भजन देखि, ठाडो खैँजडी, देउडा परिमार्जित धार्मिक भजनहरू प्रस्तुत भएको उनले जानकारी दिए । प्रतियोगितामा बिहीबार सम्म १ सय बढी समूहले भाग लिइसकेका छन् ।  प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।

 

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी प्रभावशाली समाजसेवीको रूपमा स्थापित भएको बताए । ‘यो गण्डकी कोटिहोमले पोखराको महिमालाई बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ’ उनले भने,‘हिन्दु धर्मको जर्गेना सँगै पोखरालाई धार्मिक पर्यटकीय सहरको रूपमा स्थापित गर्न गरिएको यो कार्यलाई हामी सबैले सहयोग गर्नुपर्दछ ।’

 

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.