Nidan Media

रुस–युक्रेन युद्धबन्दी साटासाट गर्ने सहमति

तीन वर्षभन्दा लामो समयसम्म चलेको युद्धलाई विश्राम दिने उद्देश्यले रुस र युक्रेनबीच शुक्रबार तुर्किएको राजधानी इस्तानबुलमा ‘फेस टु फेस’ वार्ता भएको छ । रुसको वार्ता टोलीको नेतृत्व गरिरहेका भ्लादिमिर मेडिन्स्कीले शुक्रबारको वार्ताबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् ।

वार्ता सकिएलगत्तै मेडिन्स्कीले सञ्चारकर्मीहरूसँग रुस यसपछि हुने वार्ताका लागि पनि तयार रहेको भन्दै ‘सम्पर्कमा रहिरहने’ बताए । इस्तानबुल वार्तामा उठेका छलफलबारेमा मेडिन्स्कीले थपे, ‘युक्रेनसँग आगामी दिनमा ठूलो मात्रामा कैदीबन्दी साटासाट हुनेछ, त्यो संख्या एक हजारका बदला एक हजारको हुनेछ ।’ युक्रेनी प्रतिनिधिमण्डलले भने आगामी वार्ता रुस र युक्रेनका राष्ट्रपतिहरू भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष रूपमा हुनुपर्ने सर्त राखेको थियो । उक्त मागमा पनि रुसी प्रतिनिधिहरू सकारात्मक देखिएका छन् । ‘हामीले उहाँहरूको मागलाई नोट गरेका छौं,’ रुसी वार्ता टोली प्रमुख मेडिन्स्कीले भने, ‘सम्भावित युद्धविरामका लागि भविष्यमा दुवै पक्षले आफ्ना धारणा प्रस्तुत गर्ने गरी सहमत भएका छौं ।’

तुर्किएको मध्यस्थतामा शान्ति वार्ताका लागि रुस र युक्रेनका प्रतिनिधिहरू इस्तानबुल पुगेका हुन् । बीबीसीका अनुसार वार्तामा बस्नुअघि दुवै देशका वार्ता प्रतिनिधिहरूले हात पनि मिलाएका थिएनन् । तर पनि लामो संघर्ष र मानवीय तथा भौतिक क्षतिपछि रुस र युक्रेनका प्रतिनिधिबीचको सीधा वार्ताले युद्ध रोक्नका लागि ‘ब्रेक थ्रु’ हुन सक्ने अपेक्षा गरिएको थियो । तर वार्ता केही घण्टा चले पनि उल्लेख्य उपलब्धिबिना नै सकिएको जनाइएको छ ।

वार्ताका लागि तुर्किएका विदेशमन्त्री हकान फिदानले सहजीकरण गरेका थिए । उनले दुवै टोलीलाई शान्ति वार्ता हुनुअघि सफलताको शुभकामना पनि दिएका थिए । लगत्तै फिदानले रुस र युक्रेनबीच युद्धविरामको आह्वान गर्दै भनेका थिए, ‘जब युद्धले सर्वसाधारणको ज्यान लिइरहेको छ भने यसलाई यथाशीघ्र युद्धविराम गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ ।’ शुक्रबारको वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने उपस्थित थिएनन् । वार्तामा उपस्थित बीबीसी संवाददाताले रुस र युक्रेनका प्रतिनिधिले एकअर्काको कुरा सुनेको उल्लेख गर्दै भने, ‘यो एउटा सुखद् सुरुवात हो ।’

रुसी प्रतिनिधिहरूले वार्तामा अमेरिकी प्रतिनिधि हुन नहुने जिकिर गर्दै युक्रेनलाई स्पष्ट जनादेशसहित आउन आग्रह गरेको छ । शुक्रबारको वार्तामा रुसका एक प्रतिनिधिले ‘युक्रेन पहिल्यै रुसले समय व्यतित गर्नका लागि वार्ताको नाटक गरिरहेको भन्ने सोचसहित उपस्थित भएको’ आरोप लगाएको बीबीसी संवाददाताले उल्लेख गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको झन्डै ३९ महिना लामो संघर्ष रोकिने आशा गरिएको छ । पुटिनले मिति नै तोकेर दीर्घकालीन शान्तिका लागि भन्दै युक्रेनसमक्ष वार्ताको प्रस्ताव गरेका थिए ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.