काठमाडौं । देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माईती नेपाल चोकस्थित सडकमा शनिबार राति स्कुटर र टिपर एकआपसमा ठोक्किँदा स्कुटर चालक २३ वर्षीय पासाङ शेर्पाको ज्यान गएको छ। गम्भीर घाइते भएका शेर्पाको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका ३० माथिल्लो गगनगौडास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री ५२ वर्षीय सुरज शाहीको शनिबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा संलग्न सवारी साधन र चालक फरार रहेका छन् र प्रहरीले खोजी गरिरहेको छ।
चितवनको रत्ननगर नगरपालिका ३ स्थित सडकमा गएराति ट्रक र मोटरसाइकल ठोक्किँदा १९ वर्षीय डेबिट दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। मोटरसाइकलमा सवार अर्का घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बेलनदीस्थित सडकमा शनिबार दिउँसो मोटरसाइकल र बस ठोक्किँदा मोटरसाइकल चालक ४९ वर्षीय रूकमाग शर्माको मृत्यु भएको छ। गम्भीर घाइते शर्माको मर्सिसिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ भैयाटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीया सुधा त्रिपाठीको शनिबार राति मृत्यु भएको छ। गम्भीर घाइते त्रिपाठीको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा संलग्न मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन्।