Nidan Media

रवि लामिछानेलाई भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि शनिबार बिहान भैरहवा ल्याइएको छ।

शुक्रबार राति काठमाडौँस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई यति एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलबाट उनलाई सिधै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो। यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न दिएको आदेशलाई उच्च अदालतले बदर गरेको थियो।

आज र भोलि सार्वजनिक बिदा परेकाले लामिछानेलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा रकम ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। उनी शुक्रबार राति काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका थिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.