Nidan Media

‘अञ्जिला’ले दर्शकको मन जित्यो, शो सङ्ख्यामा उत्साहजनक वृद्धि

फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ले दर्शकको उत्साहजनक साथ पाएको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको यो चलचित्रले हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि गर्दै लोकप्रियताको नयाँ उचाइ छोएको छ ।

वितरक करण श्रेष्ठका अनुसार, चलचित्रले प्रदर्शनको पहिलो दिन १०५ शोबाट यात्रा सुरु गरेको थियो । दर्शकको बढ्दो मागसँगै शुक्रवार ११४, शनिवार १३४ र मङ्गलवारसम्म आइपुग्दा १७० भन्दा बढी शो पाएको छ । यो तथ्याङ्कले चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च मागलाई स्पष्ट पारेको छ । प्रारम्भिक दिनदेखि नै सकारात्मक प्रतिक्रियाका कारण, चलचित्रले थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताए ।

चलचित्र ‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ । एन्जिलाको कथाले दर्शकको मनमा गहिरो प्रभाव छोडेको छ । राष्ट्रिय महिला फुटबल टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा देख्दा दर्शकहरू भावुक बनेका छन् । चलचित्रको अन्त्यतिर हलमा अधिकांश दर्शकहरूका आँखा रसाएको देखिन्छ ।

यो चलचित्र निर्देशक मिलन चाम्सको ११औँ निर्देशकिय चलचित्र हो, जसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्रले पहिलो तीन दिनमा २ करोड ७ लाख रुपैयाँको व्यापार गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरिसकेका छन् ।

यति बेला यो चलचित्रको गीत ‘रात किन हुन्छ हजुर’ बहुचर्चित छ, जसमा थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको छ भने प्रभा बर्तौलाको शब्द तथा थानेश्वरको सङ्गीत रहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.