Nidan Media

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराएका थिए । ७ अक्टोबर २०२३ मा पश्चिमी इजरायलमाथि आक्रमण गरेका हमास लडाकुले विपिनसहित इजरायली र अन्य मुलुकका दुई सय ५१ जनालाई बन्धक बनाएका थिए ।

इजरायल–हमासबीच युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा हमासले ३३ बन्दी रिहाइ गरिसकेको छ । हाल दोस्रो चरणको बन्दी आदानप्रदानको प्रक्रियामा दुवै पक्ष जुटेका छन् । यस्तोमा विपिनलाई दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा समावेश गराउन पहलका लागि प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

टेलिफोन संवादको क्रममा प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्वपूर्ण भएको उल्लेख गरेको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरेका थिए ।

सगरमाथा संवादमा निमन्त्रणा

प्रधानमन्त्री ओलीले आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरेका छन् ।

वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरे । नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृंखलाको आयोजना गर्न लागेको हो ।

संवादका क्रममा संयुक्त राष्ट्रसंघका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.