Nidan Media

अध्यादेश पारित नहुने सम्भावना: प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो अडानमा कायम रहे सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन्।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले जसपा नेपालले आफ्नो अडान कायम राख्ने विश्वास व्यक्त गरे। उनले देशको स्थिति असहज रहेको उल्लेख गर्दै सरकारले गलत नियतले सदनमा अध्यादेश पेस गरेको आरोप लगाए।

“देशको स्थिति असहज भइराखेको छ। सदनमा अध्यादेश पेस भएका छन्, तर रोकिएर बसेको अवस्था छ। सरकारले गलत नियतले सदन बोलाउने बेलामा अध्यादेश ल्यायो। प्रतिक्रियाको दृष्टिकोण र सारको दृष्टिकोणले पनि त्यसको उद्देश्य गलत देखिएको छ,” प्रचण्डले भने।

उनले जसपा नेपालका नेताहरूप्रति संकेत गर्दै “विधि प्रक्रियासम्बन्धी विषयमा उहाँहरू अडिनुभएको छ। जहाँसम्म अडिनुहुन्छ जस्तो लाग्छ मलाई। मुद्दालाई नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो लाग्दैन। हुन त निर्णय गर्न पनि बाँकी छ। सायद उहाँले केन्द्रीय समिति बैठक पनि बोलाउनुभएको थियो। यदि उहाँले अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ,” उनले थपे।

प्रतिनिधि सभामा दुई तिहाइ बहुमत रहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार राष्ट्रिय सभामा भने अल्पमतमा छ। राष्ट्रिय सभामा तीन सिट रहेको जसपा नेपालका सांसदहरूले समर्थन नगरेसम्म अध्यादेश पारित हुन नसक्ने अवस्था छ।

जसपा नेपालले आफ्नो अडान कायमै राखेमा राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने देखिन्छ। अब जसपाको अन्तिम निर्णयले नै सरकारको रणनीति र आगामी राजनीतिक परिदृश्य निर्धारण गर्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.