Nidan Media

थन्डरबोल्ट नर्थ युनाइटेड संकटामाथि विजयी, आहा–रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा रंगशालामा जारी २४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले पराजित गरेको छ। शुक्रबार भएको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई बाहिर पठाएको हो।

खेलको १७औं मिनेटमा संकटाका मनिष पौडेलले पासाङ लामाको पास सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। तर, ३५औं मिनेटमा थन्डरबोल्टले पेनाल्टीको अवसर पायो, जसलाई फ्र्यांकलिन क्वेटे टालाले सहजै गोलमा परिणत गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा थन्डरबोल्टले खेलमा पकड जमाउँदै थप दुई गोल गर्‍यो। ७७औं मिनेटमा करन राईले आन्द्रेको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ८९औं मिनेटमा आदर्श तामाङले मैदानको मध्यभागबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे। संकटाका गोलरक्षक दीप कार्की पोस्ट छोडेर अगाडि बढेको अवस्थामा आदर्शले सो अवसर सदुपयोग गरे।

थन्डरबोल्टका फ्र्यांकलिन क्वेटे टाला खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। अब थन्डरबोल्टले माघ २९ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

शनिबार प्रतियोगिताको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब, यूकेबीच हुनेछ। पुलिसले आयोजक सहारा क्लबलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो भने ब्रिगेड ब्वाइज क्लब सोझै क्वाटरफाइनलमा पुगेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.