Nidan Media

प्रधानमन्त्री ओलीको आत्मविश्वासयुक्त राष्ट्रनिर्माणको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपालले पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वर्ल्ड स्कूलद्वारा आयोजित ‘युवा अन्तर्क्रिया कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकास र समृद्धिका लागि युवा पुस्तालाई प्रेरित गरे।

प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार र गुणस्तरीय शिक्षा प्रदान गरी युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने संकल्प व्यक्त गर्दै भने, “विदेशमा गएर नेपाली युवाले अरूका देश बनाएका छन्। अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ। हामीसँग एक करोड युवा स्वदेशमै छन्। त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ।”

देशबाट गरिबी समाप्त गर्दै स्वाधीनताको झण्डा झुक्न नदिने र समृद्ध नेपाल निर्माण गर्नुपर्ने सन्देशसमेत प्रधानमन्त्रीले व्यक्त गरे।

उनले नेपाल कहिल्यै कुनै देशको अधिनमा नपरेको इतिहास स्मरण गर्दै विद्यार्थीलाई देशभक्ति र इमानदारीका साथ अगाडि बढ्न आग्रह गरे। “अरूको बहकावमा लाग्न हुँदैन, असल नेपाली संस्कारलाई पछ्याउनु पर्छ,” प्रधानमन्त्री ओलीले भने। युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको पनि उनले जानकारी दिए।

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्रीले चीन, भारत लगायतका मुलुकसँग मित्रवत् सम्बन्ध रहेको बताए। हालैको चीन भ्रमणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’अन्तर्गत सहकार्य विस्तार भएको जानकारी गराए।

नेपालको भलाइका लागि आफुले देखेको सबैभन्दा ठूलो सपना के हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले “समृद्ध नेपाल, सुखी नेपाली” नै आफ्नो सबैभन्दा ठूलो सपना भएको स्पष्ट पारे।

कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्रीसँग रुचि र व्यक्तिगत अनुभवबारे समेत जिज्ञासा राखेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.