Nidan Media

प्रधानमन्त्री ओलीद्वारा नेपाली भाषाको सम्पन्नता र सम्मानबारे जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा सम्पन्न रहेको भन्दै यसको सही प्रयोग र सम्मानजनक व्यवहारलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंको बुढानीलकण्ठस्थित इम्मेरियला कलेजमा सोमबार आयोजित वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्यार्थीहरूसँगको अन्तर्क्रियामा उनले नेपाली भाषाका विशिष्ट पक्षहरूको चर्चा गरे।

विद्यार्थीहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भाषा सिकाइमा बालबालिकालाई सानैदेखि सही ज्ञान दिनुपर्ने बताए। उदाहरण प्रस्तुत गर्दै उनले भने, “मेरो सानो नातिले ‘काग करायो’ भन्न हुँदैन, ‘कराउनुभयो’ भन्नुपर्छ भन्ने सिक्यो। तर, हजुरबुवालाई ‘तिमी’ भन्छ। उसले अझै बुझ्ने बेला भएको छैन।”

उनले नेपाली भाषा आदर-सम्मानयुक्त रहेको र यसको प्रचार-प्रसार आवश्यक रहेको बताए। साथै, नेपाल इतिहासका दृष्टिले गौरवशाली राष्ट्र भएको उल्लेख गर्दै अब पछाडि पर्ने कुनै कारण नरहेको धारणा राखे।

“नेपाल अब सम्पन्नताको यात्रामा छ। हामीसँग आवश्यक प्रविधि र स्रोत-साधनहरू छन्, जसले हामीलाई समृद्धितर्फ अघि बढाउन मद्दत गर्नेछ,” प्रधानमन्त्री ओलीले भने।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.