Nidan Media

नेपाली कांग्रेसको महाधिवेशन २०८४ को चुनावअघि नै हुने: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८४ को चुनावअघि नै हुने दाबी गरेका छन्। पार्टीभित्रका केही नेताहरूले महाधिवेशन आगामी निर्वाचनपछि गर्ने बताइरहेका बेला महामन्त्री थापाले महाधिवेशनको मितिबारे कुनै अन्योल नरहेको स्पष्ट पारेका छन्।

काठमाडौं महानगरपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले एक महाधिवेशनबाट अर्को महाधिवेशनबीचको समय साढे ५ वर्षभन्दा बढी हुन नसक्ने बताए। उनले भने, ‘२०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले भनिरहनुभएको छ। त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्न सक्छ, तर त्यो सम्भव छैन। महाधिवेशन सार्न संविधानले अनुमति दिंदैन, त्यसैले चुनावअघि नै महाधिवेशन हुन्छ।’

निर्धारित मितिअनुसार नेपाली कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न हुनुपर्नेछ। तर, पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू निर्धारित समयमा महाधिवेशन गर्ने पक्षमा नरहेको इतर पक्षले आरोप लगाउँदै आएको छ। इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन चाँडै गर्न नेतृत्वलाई दबाब दिन देश दौडाहामा छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.