Nidan Media

पाथीभरा झडपमा गम्भीर घाइते भएकाहरूलाई हवाई उद्धार गरेर काठमाडाैं पठाइँदै

ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ।

शनिबार साँझ भएको यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना गम्भीर घाइते भएका छन्। घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती रहेका छन्।

घाइते भएकाहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाेले  काठमाडौं लगिने भएको छ । विराटनगरस्थित नोबेल हस्पिटलमा रिफर गरेर ल्याए पनि त्यहाँबाट काठमाडौं पठाउने तयारी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घाइतेहरूलाई काठमाडौं पठाउने तयारी रहेको पुष्टि गरे । ‘आर्मीको हेलीकप्टर मार्फत काठमाडाैं लाने तयारी हुँदै छ । ल्यान्ड हुने तयारी छ,’ यादवले भने ।

गम्भीर घाइते भएका याम लिम्बूको गोलीले तिघ्रा छेडेको छ । छातीमा गोली लागेका सगुन लावती र दाहिने कुम भाँच्चिएका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा शनिबार पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका थिए । कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन् ।

आन्दोलनकारीहरूले केबलकार निर्माण कार्यलाई बाधा पुर्‍याउँदै थिए । त्यसक्रममा दिउँसो र साँझमा दुईपटक झडप भएको थियो ।

पवित्र स्थलमाथि सरकारले नाफाखोर योजनाहरू थोपर्न खोजेको भन्दै स्थानीयहरूले विरोध जनाउँदै आएका छन्। ‘खुवालुङ र मुकुलुंग केवल ढुंगा र पहाड होइनन्, यी हाम्रो आस्था र अस्तित्वका प्रतीक हुन्,’ आन्दोलनकारीहरूले भनेका छन ।

सरकारले शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर जनताको आवाज दबाउन खोजेको छ। स्थानीयहरूले  पवित्र स्थलहरूको संरक्षण र जनताको आस्थाको सम्मान गर्न सरकारलाई आग्रह गर्दै विकासका नाममा सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाश सह्य नहुने भन्दै आक्राेस ब्यक्त गरे ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.