पोखरा | पोखराको टाइगर ग्रुपले आयोजनामा हुन लागेको पाँचौँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमका ग्राहकहरूले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले एक्सन स्पोर्टस् एचडी१ मा प्रत्यक्ष हेर्न सक्ने आयोजकले जानकारी दिएका छन्।
माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्यान्डका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौँ संस्करणमा भाग लिने आयोजकले जानकारी दिएका छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
महिलातर्फ एपीएफ क्लब, न्यु डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब छन्।
सन् २०२० मा टाइगर ग्रुप स्थापना भएदेखि पोखरा रङ्गशालामा आयोजना हुँदै आएको प्रतियोगिताको पाँचौँ संस्करणका विजेताले ५ लाख ८५ हजार ५५५, उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन्।
प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार रहेको छ भने उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षकलगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले १० हजार ५५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएका छन्।





