Nidan Media

धरानवासीका खानेपानीका समस्या चाडै समाधान गछौँ : खानेपानीमन्त्री यादव

काठमाडौँ, ८ माघ : खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीका खानेपानीका समस्या चाडै समाधान गरिने आश्वासन दिनु भएको छ ।
धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै आज मन्त्रालयमा आउनु भएका धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) सँगको छलफलका क्रममा मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल चालीरहेको र चाडै समाधान हुने बताउनुभयो ।
छलफलका क्रममा मन्त्री यादवले भन्नुभयो, “जग्गा प्राप्तीको सुनिष्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्ने पर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्ने छौँ ।”
सोही क्रममा मन्त्री यादवले धरानवासी प्रति आफु सधै सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तरगत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा यो वर्ष खानेपानीका लागि टेण्डर अह्वान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।


धरानवासीलाई खानेपानीको व्यवस्था गर्नका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र बोकर निकट भविष्यमै आफु धरान आउने समेत मन्त्री यादवले नगरप्रमुख राईलाई आश्वासन दिनु भएको थियो । उहाँले भन्नुभयो, “मेयरसाब खानेपानीको योजनाका लागि अन्त कतै नगएर खुशी साथ यहीबाट धरान फर्किनुस् । खानेपानीको व्यवस्था गर्नका लागि टेण्डर आह्वान गरिएको पत्र म आफै बोकेर चाडै धरान आउँछु ।”
धरानमा खानेपानीको ठूलो समस्या भएको र उप–महानगरको बजेटले धान्न सक्ने जती आफुले काम गरेको र धान्न नसक्ने भएपछि खानेपानीका लागि सिंहदरबारमा आएको नगरप्रमुख हर्कराज राईले मन्त्री यादवलाई सुनाउनु भएको थियो । उहाँले भन्नुभयो, “उप–महानगरको बजेटले धान्न सकेको जती मैले खानेपानीका लागि काम गरे, अब धान्न नसक्ने भयो । धराने नागरिकका लागि खानेपानी योजनामा विनियोजन गरिदिनु पर्‍यो ।”
धरानका खानेपानीको व्यवस्थापनका लागि मन्त्री यादवले दिनु भएको विश्वास तथा आश्वासन पछि नगरप्रमुख राई खुशी साथ मन्त्रालयबाट बाहिरीनु भएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.