Nidan Media

रविलाई मध्यरातमा पोखरा ल्याएको प्रति रास्वपाको आपत्ति

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति एवम् पूर्वउपप्रधान रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति घोर आपत्ति प्रकट गरेको छ। रास्वपाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेका बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा लगिएको जनाएको हो।

‘यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सूत्रबाट प्राप्त भएका छन् । सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब पारिएको आरोप रास्वपाको छ। ‘हामी यसको घोर भर्त्सना गर्दछौँ। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ,’ रास्वपाले भनेको छ । रास्वपाले यस घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण गराएको छ।

‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीजस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीतसमेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौँ’, विज्ञप्तिमा उल्लेख छ। घटनाका दोषीमाथि कानुनी कारबाही गर्न पनि रास्वपाले माग गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.