पोखरा । स्कुटर दुर्घटनामा मृत्यु भएका गायक किरण अधिकारीको परिवारलाई डाँडाघरे दोहोरीले आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका –२ सेराचौरका २६ वर्षीय अधिकारीको घरमा पुगी डाँडाघरे दोहोरी साँझले एक दिनको व्यापारको १० प्रतिशत रकम र कलाकारको तर्फबाट १० हजार गरी ३० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
डाँडाघरे दोहोरी साँझका सञ्चालक होम गुरुङ, राम श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव शिव हमाल, सचिव घनश्याम रिजाल र दोहोरी साँझमा आवद्ध कलाकारहरु स्वगीय अधिकारीको घरमा पुगेर रकम हस्तान्तरण गरेका हुन् ।
चिप्लेढुंगास्थित गाउँसहर दोहोरी साँझमा कार्यरत अधिकारीको गत मंगलबार साँझ घर फर्केने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेकोपछि गण्डकी मेडिकल कलेज, पोखरा उपचार क्रममा निधन भएको हो ।