Nidan Media

मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ ।

मर्दी आरोहणका लागि काठमाडौंको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधारशिविरबाट हिंडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको ५ हजार ३०० मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधारशिविर फर्किएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । उद्धार टोलीमा लाक्पाछिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा थिए । अन्य टोली भने मर्दी हाइक्याम्पमा छन् ।

‘भीरको खोंचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटरमाथि ल्याएर सुरक्षित राखेर उद्धार टोली फर्किएको छ, उहाँहरूका अनुसार सो स्थानबाट शव ल्याउन सकिने अवस्था छैन, हेलिकप्टरबाट ल्याउनुको विकल्प छैन, त्यसका लागि पहल गरिरहेका छौं’, वडाध्यक्ष क्षेत्रीले भने ।

मर्दी आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई तामाङ लडेर हराएको जानकारी दिएपछि उद्धारका लागि मङ्गलबार बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका थिए ।

टोलीले सुरुमा हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए । –रासस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.