Nidan Media

जिल्ला प्रशासन कास्कीले तोक्यो निषेधित क्षेत्र, पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने

पोखरा ।

पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थकहरुको सम्भावित प्रदर्शन ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शन नपाइने गरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार मध्यान्ह निषेधित क्षेत्रको आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा भनिएको छ, ‘कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८१÷०७÷०४ गते बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

निषेधाज्ञा लागू हुने क्षेत्रहरु सहिदचोक आसपासका क्षेत्र, गैह्रापाटन आसपासका क्षेत्ररहेको उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई आज आइतबार कास्की प्रहरीले जिल्ला अदालत कास्की लगेर अनुसन्धानका लागि थप समय हिरासतमा राख्ने अनुमति लिँदैछ । शुक्रबार काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई गाडीमार्फत पोखरा ल्याई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.