Skip to main content

Nidan Media

एनपीएल: आज जनकपुर र काठमाडौँ तथा विराटनगर र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो साढे १२ बजे शुरू हुनेछ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुर पहिलो जितको खोजीमा हुनेछ। काठमाडौँ गोर्खाजले भने आजको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा शुरू गर्दैछ।

आजै अपराह्न पाँच बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको विराटनगर जित निकाल्ने लक्ष्यमा हुनेछ। जनकपुरलाई हराउँदै प्रतियोगितामा सुखद शुरुआत गरेको कर्णाली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।

तेस्रो संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, विराटनगर किंग्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स सहभागी छन्।

लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। यस संस्करणमा पुरस्कार राशि बढाइएको छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि शुरू भएको हो। प्रतियोगिताको फाइनल मंसिर ५ गते हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.